झापा, ईलाम र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार अपरान्ह साढे ४ बजे भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको ईटहरी उपमहानगरपालिका-४ का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न.१-००२-०४४प ३८१ नम्बरको मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे इलामको इलाम नगरपालिका(७ टुडिखेल स्थितबाट स्थानीय ३० बर्षिय राकेश पाँचकोटी र उनकै श्रीमती २९ बर्षीया निमादेवी शेर्पालाई घरैबाट ५ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ५ बजे झापाको बाह्रदशी गाउँपालिका-२ बिरिङ पुल स्थितबाट मे ७ प १०२७ नम्बरको मोटरसाईकल चालक झापाको झापा गाउँपालिका-४ का २३ वर्षीय अलागिर हक , मोटरसाईकल पछाडी सवार २६ बर्षीय मो। हुसेन र २१ बर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम लागुऔषध ब्राउन सुगर र मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो।

यसैगरी इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे  झापाको गौरादह नगरपालिका-१ का २८ बर्षीय बिशाल सुब्बा, २६ बर्षीय सुजन अधिकारी, ३५ बर्षीय राजकुमार ताजपुरिया र २८ बर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको थियो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबै जनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।