त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ।
नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो।
यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो। पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्द गरेको घोषणा गरे।
खेल रद्ध भएपछि दुवै टिमले १-१अंक बाँडेका छन्।
नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए। हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए। गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो।
यसअघि फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ।