इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउन आग्रहसहित सुहाङ नेम्वाङले पार्टी कमिटीमा निवेदन दिएका छन्। पार्टीको इलाम जिल्ला कमिटीमा नेम्वाङले निवेदन दिएका हुन्।
आगाी चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीले यसअघि नै कार्यदल गठन गरेको थियो। उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम छन्।
कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ। उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ (आज) सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो।
एमाले नेता सुवास नेम्वाङको निधन भएकोले यहाँ उपनिर्वाचन हुन लागेको हो। सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा समेत हुन्।