प्रत्येक पालिकाले १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउन सके मात्र आधारभूत स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न सकिने सरोकारवालाहरुले बताएका छन ।
विराटनगरमा आयोजना गरिएको जनस्वास्थ्यको बहुपक्षिय सवाल विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पालिकामा १५ बेडको अस्पताल खोलेर विशेषज्ञ सेवा दिनै नसकिने कुरा जनप्रतिनिधिहरुले बुझ्नुपर्ने बताए । उनले आइसियु संचालन गर्नको लागि २५ या ५० बेडको अस्पताल हुनु पर्ने जानकारी गराए । उनले जनस्वास्थ्यको समस्या एकातिर र चाहना अर्र्कोतिर हुँदा पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताए । उनले ५४ सालको ओएन एम लिएर काम गर्न नसकिने धारणा राखे ।
उनले नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम व्यवस्थित नभए पनि सरकारी अस्पतालमा स्वास्थ्य उपचार गर्न जानेहरुको संख्या भने उत्साहित रुपमा बढेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा जनस्वास्थ्यका समस्या, आवश्यकता र पहुँच बारे जानकारी गराइएको थियो । सो कार्यक्रममा कोशी प्रदेशका विभिन्न मन्त्रालयहरु स्वास्थ्य संस्था लगायत विभिन्न कार्यालयहरुका साथै सरोकारवालाहरु निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।