मोरङको बेलबारी पुरानो मालपोत सडक खण्डमा गत शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बससँग ठोक्किएपछि बसको पछाडि आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका झापाको कमल गाउँपालिका २ का ४६ वर्षीय हरि खनालको उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि दुर्घटना भएकै दिन उनकी श्रीमती ४४ वर्षीया दीपा खनाल ,५२ वर्षीय यदुकान्त भट्टराई र जिप चालक ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएकी सोही स्थानकी गायत्री भट्टराईको न्यूरो अस्पतालमा उपचार भइरहेको छ।