प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानवादीहरूले विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्।
प्रदेश नम्बर १ पुन नामकरण संयुत्तः सङ्घर्ष समितिको आयोजनामा काठमाण्डौको तिनकुनेमा अहिले विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शनमा आदिवासी जनजाति महासङ्घमा आबद्ध जातीय सस्थाहरुले सहभागिता जनाएका छन्। यस्तै कोशी प्रदेशका १४ वटै जिल्लामा पनि कोशी नाम खारेजीको माग राख्दै विरोध प्रदर्शन भइरहेको छ।a
कोशी प्रदेश सभाले एक वर्ष अघि आजकै दिन प्रदेशको नाम कोशी राखेको थियो। प्रदेशको नाम कोशी राखेको दिनलाई पहिचानवादीहरूले कालो दिनको रूपमा विरोध जनाएको किराँत याक्थुङ्ग चुम्लुङका महासचिव निरन्ती तुम्वापोले बताइन्।
उनका अनुसार प्रदर्शनमा आदिवासी जनजाति महासङ्घमा आबद्ध सबै जातीय संस्थाको सहभागिता रहेको छ। प्रदेश नम्बर १ पुन नामकरण संयुत्तः सङ्घर्ष समितिले प्रदेशको नामक कोशी राखेको दिनको रूपमा कालो दिनको रूपमा फागुन १७ लाई लिएको बताइन्। उनले कोशी नाम खारेजीको माग राख्दै सङ्घीय राजधानी लगायत कोशी प्रदेशका सबै जिल्लामा प्रदर्शन भइरहेको बताइन्।
कोशी सभाले ७९ साल फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो। कोशी प्रदेश सभामा रहेका एमाले, माओवादी, काँग्रेस र राप्रपाका प्रदेश सभा सदस्यले कोशी नामको पक्षमा मतदान गरेका थिए।
९३ जना प्रदेश सभा रहेको कोशी प्रदेशमा जसपा र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूले भने विपक्षमा मतदान गरेका थिए। एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश सभामा छुट्टै नामको प्रस्ताव गरेका थिए। तर उनको प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेको थियो ।
संवैधानिक प्रक्रिया पुर्याउँदै कोशी नाम राखिएपछि पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन्।
आन्दोलनका क्रममा एक जनाको ज्यान गएको छ। प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु लाजेङ्गको मृत्यु भएपछि सरकारले सहिद घोषणा गरेको छ। आन्दोलनपछि कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समिति बिच वार्ता भइरहेको छ।
मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले पहिचानवादीहरूसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमल जवेगुको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् । संयुक्त सङ्घर्ष समितिले पनि वार्ता टोली गठन गरेको छ।