रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन पेश गरेका छन्। रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन्। उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन पेश गरेका हुन्।
उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ। विभागमा महानिर्देशक प्रकाशमणि पौडेलले उद्धारका माग गर्दै निवेदन परेको बताए। रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन्। व्यक्तिगत पहल तथा सरकारको पहलमा उनीहरू सकुशल नेपाल फर्किन सफल भएका हुन्।
रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ। सरकारले भने हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि गरेको छ। तीबाहेक अन्य नेपालीको पनि मृत्यु भएको अनुमान गरिएको छ। उनीहरूको रुसमै अन्त्येष्टि गरिँदै आएको छ। शवको अन्त्येष्टि गरिए पनि अस्तु भने नेपाल पठाउन गरिएको छ।
रुसले मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार भएको छ। यसअघि मृत्यु भएका तथा सेनामा भर्ना नगर्न गरेको आग्रहबारे रुसले कुनै प्रतिक्रिया दिएको थिइन्। अथक प्रयासपछि रुसले मृत्यु भएका नेपालीहरूको अस्तु नेपाल पठाउने र क्षतिपूर्ति समेत दिन तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
युक्रेन रुसबिचको युद्धका लागि नेपालीहरू समेत रुसी सेनामा भर्ना हुँदै आएका थिए। यतिबेला भने सरकारले श्रम स्वीकृति र रुस भ्रमणमा रोक लगाएको छ। जसले गर्दा नेपालीहरू पछिल्लो एक महिनादेखि जान नपाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।