जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ।
विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश नपठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न थालेको हो।
बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका पीडक पक्राउ अभियान सुरु गरिएको महिनादिनमै सातजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ।
“पीडितले दिएको जाहेरीको आधारमा आरोपितलाई विभिन्न ठाउँबाट पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ। उनीहरुले पीडितबाट रु एक लाख २५ हजारदेखि रु ३५ लाख २५ हजारसम्म ठगी गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये केहीले सम्बन्धित व्यक्तिलाई आफूले लिएको पैसाको साँवा/ब्याज फिर्ता गरेका छन्। फिर्ता गर्न नसकेकालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउनेछौँ।”
यसैबीच, फरार प्रतिवादी पक्राउ अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले गत साउनदेखि हालसम्म ९८ जनालाई पक्राउ गरिसकेको जनाइएको छ। अभियानका क्रममा ३० वर्षअघिदेखि फरार रहेका प्रतिवादीसमेत पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ।