जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत हिजो आज खेती हुन छाडेपछि लोप हुने अवस्थामा पुगेका छन्।
जिल्लाका पहाडी क्षेत्र ताप्ली, उदयपुर गढी, रौतामाई तथा लिम्चुङबुङ गाउँपालिका क्षेत्रमा बिगतमा परम्परागत रुपमा खेती गरिने र उत्पादन हुँदै आएको रैथाने बाली फापर, जुनेलो तथा गहत हिजो आज खेती गर्न छाडिएपछि पाउन नै छाडिएको स्थानिय बताउँछन्।
आजभन्दा १५/२० वर्ष अगाडिसम्म पनि ओख्ले पिपलभन्ज्याङका पाखाबारीमा जुनेलोखेती हुने गरेका कारण गाउँ नै जुनेलोमय हुने गरेको थियो। जिल्लाका पहाडी क्षेत्रका अधिकांश बारीमा बिगतमा अनिवार्य रुपमा जुनेलोखेती हुने गरेको भए पनि हिजो आज हुन छाडेको छ।
बिगतमा गाउँका पाखाबारी तथा सुक्खाबारीमा अनिवार्य गहत तथा जुनेलो जस्ता अन्नबाली लगाएर उत्पादन गरिने भएको भए पनि हिजो आज युवाहरुले यस्तो खेती प्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन हुन थालेपछि रैथाने बाली लोप हुँदै गएको रौतामाई गाउँपालकिकाका उपाध्यक्ष भूपेन्द्र थापाले बताउनुभयो ।
उदयपुरगढीका दनुवार बेसीका कृषक वुद्धिबहादुर तामाङका अनुसार विगतमा गाउँघरमा फापर तथा जुनेलो उत्पादन गरेर अन्यत्र बजारमा लगेर बिक्री गर्ने गरिएको तर आज खेती नै हुन छाडेपछि आफैँलाई खानका लागि यस्ता अन्नबाली खोजेर पनि पाउन छाडेको छ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार विगतमा जिल्लाको पहाडी क्षेत्रको गाउँघरमा उत्पादन हुने फापर, जुनेलो तथा गहत राम्रो उत्पादन हुने र कृषकले यसको बिक्रीले राम्रै फाइदा लिने गरे पनि हिजो आज यसको खेती नै हुन छाडेको छ।
गाउँघरमा उत्पादन हुने अन्य रैथाने अन्नबाली कोदो, कागुनी, जौं समेत हिजो आज बिस्तारै खेती हुन छाडेका कारण लोप हुँदै जाने अवस्थामा पुगेको रौतामाईका कृषक कृष्णबहादुर आलेमगर बताउनुभयो।