बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने आर्थिक सामाजिक असर र हिमाल, पहाड तथा तराईमा समानुपातिकरुपमा आधारभूत सेवा सुविधाको प्रबन्धका लागि नीतिगत बहस हुनुपर्नेमा जोड दिइएको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालयको  सहकार्यमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जनसङ्ख्या विभागले आज आयोजना गरेको प्राज्ञिक बहसमा वक्ताहरुले हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइँसराइ बढ्दो भएकाले यसका कारण र न्यूनीकरणका उपाय खोजी हुनुपर्नेमा आग्रह गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका डीन प्रा.डा. कुशुम शाक्यले मानिसको जन्म र मृत्यु प्राकृतिक भए पनि बसाइँसराइ अप्राकृतिक भएको बताउँदै पछिल्लो राष्ट्रिय जनगणनामा देखिएको बसाइँसराइका तथ्याङ्कलाई केलाउन उपयुक्त नीति आवश्यक भएकोमा जोड दिनुभयो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले जन्मदर बढी हुने विगतको समस्या हाल नेपालमा नरहे पनि बसाइँसराइ एक समस्या र आयाम भएको बताउदै पछिल्लो जनगणनामा नेपालभित्र र विदेशमा गरी करिब ४४ लाख नेपाली बसाइँसराइ भएको देखिएको जानकारी दिनुभयो ।

जनसङ्ख्या विभागका प्रमुख डा. योगेन्द्रबहादुर गुरुङले बसाइँसराइको असरबारे अध्ययन गर्नु प्रज्ञिक जगतको काम भएकाले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो। प्रा.डा. दिनेश भुजुले भने पुर्खादेखि नै बसाइँसराइ गरिरहने भएकाले यसलाई चिन्ताको विषय मान्न नहुनेतर्क राख्नुभयो ।