कोशी प्रदेशकै सबैभन्दा ठूलो बिराटनगरको सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा भइरहेको गैरकानुनी हर्कतलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तथा अनुसन्धान सुरु गरेको छ।
अस्पताल विकास समितिका नाममा गैरकानुनी निर्णय गरेर अस्पतालमा विभिन्न गतिविधिहरु भइरहेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले गतिविधिमाथि अनुसन्धान गर्न थालेको हो ।
छानबिन तथा अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कारबाही हुने अख्तियार इटहरीका प्रमुख एवं सह–सचिव सुरेश न्यौपानेले बताउनुभयो। कोशी अस्पतालमा कानुन बिपरीतका गतिविधि भइरहेको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको थियो ।
समाचार प्रकाशन भएपछि अख्तियारको ध्यानआकर्षण भएको छ । अख्तियारले छानबिन तथा अनुसन्धान सुरु गरि कारबाही अघि बढाइसकेको न्यौपानेले बताउनुभयो ।
अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा मूल्यांकन वा टेण्डर नगरि चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन गैरकानुनी रूपमा भत्काएर काठ, इँटा, रड, टिन लगायतका निर्माण सामग्री गायब पारिएको छ । भवन भत्काउन अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालको डोजर प्रयोग भएको थियो ।
स्वास्थ्य मन्त्रालयको समेत स्वीकृति नलिइ आफूखुसी भवन भत्काइएको हो । मनोमानी हिसाबले भवन भत्काउने काममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले सहयोग गरेका थिए ।
बायोमेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक भर्नाका लागि विज्ञापनमार्फत दरखास्त आह्वान गरिएको छ । चलानी नम्बर र पत्र संख्या क्रमबद्ध नराखिकन एवं क्रम संख्या नै गायब पारेर शंकास्पद हिसाबले विज्ञापन गरिएको हो ।