जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।

ढिलोगरी हिमपात भएपछि हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिनुभयो। 

यस वर्षको हिउँदेयामको यो पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानमा यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ। 

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाले बताउनुभयो। जुम्ला लगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा भने अवरुद्ध रहेको छ ।