नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीदहरुको अवमूल्यन हुने काम गरेको आरोप लगाएका छन्।

मंगलबारबाट सुरु भएको सामुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन्।

उनले भने,‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नु भयो। शहीद दिवसका दिन हामीले शहीदहरुलाई अवमूल्यन गर्न भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ ।’

प्रजातन्त्रका निम्ती बलिदानी दिएका शहीदको अवमूल्यन नगर्न उनले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए।‘शहीदको वास्तविक परिभाषालाई अंगिकार गरी अघि बढ्दा शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ। शहीदको संख्या थप्दै गर्दा शहीदकै अपमान हुने बुझेको छु।’

प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिब्यक्ति दिएका थिए।

नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे। उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।