मोरङको लेटाङ नगरपालिका–३ की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नागरिता प्राप्त गर्नुभएको छ । घर परिवार बिहीन दर्जीको अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिता बिहीन हुनुपरेको थियो।

उहाँले लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राईको पहलमा नागरिकता प्राप्त गर्नुभएको हो। बोल्न र सुन्न नसक्ने दर्जी शारीरिक रुपमा समेत अशक्त रहनुभएको छ।नागरिकताबाट वञ्चित हुँदा राज्यबाट पाउने सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको थियो । दर्जी चार दशकअघिदेखि लेटाङबजार आसपासमा बेसहारा भई हिँड्डुल गर्दै आउनुभएको छ।

नागरिकतामा सनाखत गर्ने कोही नभएकाले उहाँ नागरिकता पाउनबाट वञ्चित हुनुभएको थियो। उहाँको नागरिकतामा वडाध्यक्ष राईले सनाखत गर्नुभएको छ। एक सहारा बिहीन आमालाई नागरिकता दिलाई वडाध्यक्ष राईले सिङ्गो नगरपालिकाको इज्जत बढाउन सफल भएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले बताउनुभयो । 

वडाध्यक्ष राईले मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाह अनुसार दर्जीको संरक्षक भई नागरिकता दिलाउन सफल भएको बताउनुभयो।दर्जीलाई सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले लेटाङ नगरपालिकाको परिसरमा आई नागरिकता हस्तान्तरण गर्नुभएको हो ।