वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन्।

उनीहरुले वि.सं. २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् । 

सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले  रु. एक करोड पाँच लाख १३ हजार ठगी गरेको उजुरी परेको जानकारी दिनुभएको छ । वैदेशिक रोजगारीमा पठाउने बहनामा ठगीमा परेको जनाउँदै चालु आर्थिक वर्षमात्रै १५ जनाले उजुरी दिएका छन् । पीडितको उजुरीमा रु. २३ लाख ४० हजार पाँच सय ठगी भएको उल्लेख छ ।

विदेश जाने नाममा म्यानपावर र एजेन्टलाई पैसा दिए पनि लामो समयसम्म विदेश नपठाएपछि र पैसा फिर्ता नदिएपछि पीडित आप्रवासी स्रोत केन्द्रमा आइपुग्ने गरेका छन् । सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा हालसम्म म्यानपावर र एजेन्टबाट रु. १० लाख ६८ हजार रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकिएको छ।

चालु आव स्रोत केन्द्र दिक्तेलमा परेका उजुरीमध्ये जिल्ला प्रहरी कार्यालय खोटाङले रु. एक लाख ५० हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकेको संयोजक राईले जानकारी दिनुभएको छ । वैदेशिक रोजगारीका सिलसिलाका रकम फिर्ता लिनका लागि एजेन्ट र म्यानपावर धाउँदा-धाउँदा हैरान भएका पीडितले अन्तिम विकल्पका रूपमा आप्रवासी स्रोत केन्द्रलाई गुहार्ने गरेको जनाइएको छ ।

वैदेशिक रोजगारसम्बन्धी ठगीमा परेका पीडितसँग आवश्यक प्रमाण नहुनु, ठगी गर्ने अधिकांश जिल्ला बाहिरका हुनुजस्ता कारणले पीडित न्यायबाट बञ्चित भएको स्रोत केन्द्रले जनाएको छ । वैदेशिक रोजगारका क्रममा गरिने आर्थिक कारोबार सकेसम्म बैंकिंङ माध्यमबाट गरी प्रयोजनमा वैदेशिक रोजगार उल्लेख गरियो भने ठगिएको पैसा फिर्ता लिन सजिलो हुने संयोजक राईले जानकारी दिनुभयो । 

ठगीका नयाँ-नयाँ शैली प्रयोग हुन थालेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो।पछिल्लो समय नयाँ  नयाँ तरिका र प्रक्रियाबाट वैदेशिक रोजगार सम्बन्धी तथा विभिन्न बहानाम ठगीका घटना हुन थालेका छन्। ठगीका घटनालाई न्यूनीकरण गर्न हामीले पनि नागरिकलाई सचेत गराइरहेका छौँ। पीडितसँग आवश्यक प्रमाण नहुँदा समस्या हुने गरेकोले यसप्रति सचेत हुन आवश्यक छ ।

खोटाङ सबैभन्दा बढी वैदेशिक रोजगारमा जानेको सूचीमा पर्छ । वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेसँगै जिल्लामा वैदेशिक रोजगारका समस्या पनि बढ्दै गएको पाइएको हो। आव २०८०/८१ को पछिल्लो पाँच महिना (मङ्सिरसम्म) मा खोटाङबाट तीन हजार तीन सय ४१ युवा र तीन सय २२ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। दश स्थानीय तह रहेको खोटाङबाट गत वर्ष नौ हजार आठ सय छजना युवाले श्रम स्वीकृति लिएको पाइएको छ भने यसमा आठ सय ३१ महिला रहेको श्रोत केन्द्रले जानकारी दिएको छ ।