७१ औं विश्व कुष्ठरोग दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरेको छ ।

महानगर मातहतको स्वास्थ्य संस्थाबाट नियमित रुपमा कुष्ठरोगका औषधि खाने बिरामीलाई प्रत्यक्ष लाभ हुनेगरी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । प्रायजसो गरिबीसँगै जोडिएको यो रोगमा अपांगताको दोस्रो श्रेणी भएका बिरामीहरुलाई न्यानो कपडा वितरण गर्दा चिसो मौसममा जीवनयापन गर्न सजिलो हुने भएकाले महानगरले सिरक वितरण गरेको छ।

कुष्ठरोगका बिरामीहरु आगो ताप्दा हातखुट्टा पोल्दासमेत थाहा नहुने भएकाले जाडोबाट बच्नका लागि सिरक उत्तम उपाय भएकाले निःशुल्क रुपमा वितरण गरिएको स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक भूपेन्द्रकुमार साहले जानकारी दिए ।

कुष्ठरोगीलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम गरेर महानगरले दिवस मनाएको उनको भनाइ छ । मेयर नागेश कोइरालाको निर्देशनमा आइतबार विराटनगर वडा नम्बर १२, १५, १६, १७ र १९ का ७ जना कुष्ठरोगीलाई सिरक वितरण गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए । हाल महानगर मातहतका स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिरहेका ७ जना कुष्ठरोगी छन् ।