मुलुकको शान्ति सुरक्षा थप मजवुद बनाउन तीन तहका मन्त्रीहरुबिच छलफल भएको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तीन तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल भएको हो।
संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम बसेको बैठकमा सबै प्रदेशका आन्तरिक मामिला तथा गृह प्रशासन हेर्ने मन्त्रीहरुको सहभागिता थियो। बैठकले प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने निणर्य गरेको गृह मन्त्रालयका सह सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
मुलुकको शान्ति सुरक्षाथप मजबुत बनाउनका लागि संघीय गृह मन्त्रालय र प्रदेशमा सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने,प्रदेश सरकारहरु बिचको सहकार्यलाई थप बलियो बनाउने र प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने जस्ता निणर्य भएको पनि जानकारी दिनुभयो।
प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने, नेपाल प्रहरी ऐन र स्थानीय प्रशासन ऐन तर्जुमाको चरणमा छ । यसलाई छिटो अगाडि बढाउने, मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गरेर समीक्षा गर्दै थप मजबुत बनाउनको लागि संघीय गृहमन्त्रालय र प्रदेशका सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने, गृह र प्रदेश सरकारहरुको बिचको सहकार्यलाई थप बलियो बनाउने, प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने विषयमा छलफल भएको छ।