चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको  काम अन्तिम चरणमा पुगेको हो।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म र चौबिसकोठीमा सर्भिस लेन बनाउन बाँकी छ भने अन्य क्षेत्रमा लाइटिङको काम बाँकी छ । उहाँका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम अगाडि बढेको छ।

सो निर्माण कम्पनीले २०७७ माघ २८ भित्र विस्तार गरी सक्नेगरी कामको जिम्मा लिएको थियो। सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको  । अन्तिमपटक मङ्सिरमा भदौसम्म सक्नेगरी म्याद थप गरिएको शाहले जानकारी दिनुभयो।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी छ दशमलव ०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो। सडकको लागत रु.एक अर्ब ७६ करोड छ।

भौतिक प्रगति ७५ प्रतिशत भए पनि वित्तीय प्रगती ६५ प्रतिशतमात्र भएको शाहले जानकारी दिनुभयो। यस सडकलाई यस वर्ष रु.पाँच करोडमात्र बजेट विनियोजन भएको थियो । बाँकी रकम नपुगेर मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो।

अहिलेसम्म भुक्तानी समयमा नहुँदा सडक विस्तार गर्न समस्या परेको निर्माण कम्पनीले जनाएको छ। फागुनको पहिलो सातासम्म पुलचोकबाट वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्र हुनेछ। वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म नाला निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।