भारत गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा आफ्नो समवेदना रहेको उल्लेख गरेका छन्।

राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले  राज्यका मुख्यमन्त्रीसँग कुरा गरेर घटनाबारे जानकारी लिएका छन्।

स्थानीय रिपोर्टका अनुसार बोटिङ गर्दा बच्चाहरूको सुरक्षा सुनिश्चित गर्न लाइफ ज्याकेटहरू पूर्ण रूपमा फिट नगरिएको र डुङ्गा खचाखच भरिएको थियो। बालबालिकाहरु आफ्ना शिक्षकसँग हरनी ताल पुगेका थिए। यस घटनाका बबारेम थप अनुसन्धान सुरु गरिएको छ।