जिल्लाको भानु नगरपालिका कार्यालयले पहिराको उच्च जोखिममा रहेका एकदर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद गरेको छ। बस्ती भन्दामाथि ठूलो पहिराको जोखिममा बस्दै आएका भानु–११ राम्चेका बाह्र घरधुरीलाई सुरक्षित स्थानमा सार्न पालिकाले पहल गरेको हो । 

भूगर्भविद्, सङ्घीय सरकार, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको विपद् व्यवस्थापन समितिले उक्त क्षेत्रको अध्ययन तथा अवलोकन गरी बस्न योग्य नभएको प्रमाणित गरेपछि प्रक्रिया अघि बढाइएको भानु–११ का वडाध्यक्ष बिमलराज जोशीले बताउनुभयो।

आर्थिक वर्ष २०७७र७८ मा अघिल्ला जनप्रतिनिधिको पालामा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नभएकाले अहिलेको जनप्रतिनिधिले प्राथामिकता दिएर काम गर्न थालेको हो।

नगरपालिकाले विपद्बाट क्षति भएका सत्तरी जनालाई रू.आठ लाख पच्चीस हजार राहत उपलब्ध गराएको नगरप्रमुख त्रिपाठीले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाभित्र भएका स–साना विपद्का घटनामा क्षति भएकालाई उक्त सहयोग रकम प्रदान गरिएको हो। 

विपद्बाट भएका क्षतिलाई राहत उपलब्ध गराउन नगर कार्यपालिकाको बैठकले निर्णय गरी सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।