गृह–मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ ।

इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो । 

अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण,दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस,नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका छन् । ऐँसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कामु शाखा अधिकृत अवधि मङ्सिर १७ गते सकिएपछि दैनिक सेवा प्रभावित भएको हो । 

इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कबाट नागरिकता सिफारिसलगायत प्रशासनिक सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ऐँसेलुखर्क पुगेर यही पुस ४ र ५ गते सेवा प्रदान गर्नुभएको थियो । 

शाखा अधिकृतको व्यवस्था वा कामु अधिकृत नियुक्त गरिदिन पुस १६ गते पनि मन्त्रालयलाई पत्राचार गरेका थियौँ तर हालसम्म पत्रको सुनुवाइ नभएको जिल्ला प्रशासन कार्यालका एक अधिकृतले भन्नुभयो,गृह–मन्त्रालयले दीर्घकालीन समस्या समाधान गर्नुपर्छ ।

खोटाङ गाउँपालिका–७,खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटाङ,जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही समस्यामा परेका छन् ।  

इलाका प्रशासन कार्यालयमा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा अत्यावश्यक कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्नुपर्ने बाध्यता छ। इलाका प्रशासन कार्यालयको सेवा पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल भइरहेको खोटाङ गाउँपालिका प्रमुख उदिम राईले बताउनुभएको छ।