कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरी समायोजना पछिको तयारीका लागि जुट्न निर्देशन दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आज अनुगमन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश सरकारलार्ई प्रहरी समायोजन गरी हस्तान्तरण गर्न लागेकाले यस सम्बन्धमा आवश्यक तयारी गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन भएपछि त्यसको सञ्चालन, सरूवा तथा बढुवाको विधि निर्माण गर्न पूर्वतयारीमा जुट्नुपर्ने बताउदै जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको यस मन्त्रालयले जनतालाई महसुस हुने गरी काम गर्नुपर्छ भन्नुभयो ।
मुख्यमन्त्री कार्कीले बजेट पूर्ण रुपमा कार्यान्वयन गरेमा मात्र जनता समक्ष सरकार पुगेको महसुस हुने र ट्राफिक सप्ताह होइन, प्रत्येक दिन ट्राफिक अभियान चलाउन र सडकमा जडान गरिएका सिसी क्यामेराको प्रभावकारी रुपमा अनुगमन गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये नौ जिल्लाको नक्शाङ्कन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको कार्य चाँडै सम्पन्न गरिने मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।