विराटनगर, २१ पौष
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि कोशी प्रदेशमा मनोनयन देखि निर्वाचन सम्मको तयारीका लागि राजनैतिक दलहरु संग छलफल गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले शनिवार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा मनोनयन देखि निर्वाचन सम्मको स्थिति, मनोनयन प्रक्रिया, निर्वाचन विधि र कानुनी प्रक्रिया बारे जानकारी गराइएको थियो । सो कार्यक्रममा बोल्दै मोरङ जिल्लाका न्यायाधिस एवम निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले सुरक्षित तवरमा सम्पन्न गर्न माघ ११ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन राजनैतिक दलहरुको सहयोग आवश्यक रहेको बताए ।
विष्णु प्रसाद गौतम, निर्वाचन अधिकृत, राष्ट्रिय सभा निर्वाचन कोशी प्रदेश ।
सो कार्यक्रममा सहायक निर्वाचन अधिकृत हेम बुढाथोकीले निर्वाचन कार्यक्रम, मनोनयन विधि र मतदान स्थलको विवरण बारे जानकारी गराउनु भएको थियो । सो छलफल कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र निर्वाचन कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशमा एक जना महिला र एक जना अन्य गरी दुई जना सदस्यका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९३ जना प्रदेश सांसद र २७४ जना पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरि ३६७ जना मतदाता रहने निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए । सो निर्वाचनका लागि पौष २३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।