आगामी मंसिर २६ गते देखि नेकपा एमालेले कोशी प्रदेशमा संकल्प यात्रा गर्ने जानकारी गराएको छ ।
शनिवार नेकपा एमाले कोशी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलन गर्दै संकल्प यात्रालाई बिथोल्ने गरी आव्हान गरिएको बन्द कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन ।
पत्रकार सम्मेलनमा मंसिर १४ गते देखि शुरु भएको झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मंसिर २६ गते कोशी प्रदेशको घुर्र्र्मीबाट प्रवेश गर्न लागेको जानकारी दिए । सो संकल्प यात्रालाई बिथोल्ने गरी आव्हान गरिएको बन्द हडताल कार्यक्रम पहिचानको लागि नभई एमाले लक्षित भएकाले तत्काल फिर्ता लिन आग्रह समेत गरे । एमाले नेताहरुले कोशी प्रदेशको नामाकरण संविधान र कानुन बमोजिम भएकाले यस बारेको असन्तुष्टि बारे छलफल गर्न तयार रहेको बताए । पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव एवम कोशी प्रदेश इन्चार्ज रघुविर महासेठले संकल्प यात्रा शान्तिपूर्ण हुने र यसमा अवरोध र्पुयाईए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । उनले एमालेको कसैसंग बदलाको भावना विना सुरु गरिएको संकल्प यात्रा पौष ५ गते काठमाण्डौमा समापन गरिने बताए ।
संकल्प यात्राको क्रममा विभिन्न ठाँउमा सभा र छलफल कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली सहित करिब ५ सय जनाले सो संकल्प यात्रामा भाग लिने बताइएको छ । पुष्पलाल लोकमार्गमा संचालन हुने संकल्प यात्राले कोशी प्रदेशमा ४ सय २५ किलोमिटर यात्रा गर्नेछ ।