शनिवार बस्ने कोशी प्रदेशसभाको बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुने प्रदेश सचिवालयले जारी गरेको कार्यसुचीमा राखिएको छ ।
कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई प्रस्ताव स्वरुप सभामा पेश हुने जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।
गत जेठ ३२ गते तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालू आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट बजेट ल्याएका थिए । अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँ रहेकोछ । जुन बजेटमा पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड छ ।
अध्यादेशबाट आएको बजेटभन्दा केही आकार बढ्नसक्ने बताइएको छ । बजेटमा भौतिक विकास भन्दा मानवीय विकासलाई ध्यान दिइएको जनाएको छ । संघीय सरकारले हस्तान्तरण गरेका आयोजना, स्थानीय तहलाई हस्तान्तरण गरिएको आयोजना र प्रदेश सरकारको स्रोतबाट अध्यादेश बजेटमा उल्लेखित सम्झौता भइसकेका कार्यक्रम बाहेकलाई पुनःर्विचार गर्दै प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।