कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अझै पनि सहमितको सरकार बनाएर जाने बताएका छन् ।
शनिवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै मुख्यमन्त्री कार्कीले आफुलाई मुख्यमन्त्री बनाउने दलको एजेण्डालाई बोकेर सरकार गठन गरेको बताए । उनले एमालेको सहमतिविपरित माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको सन्दर्भमा प्रदेशमा सहमतीय सरकार बनाउने एमालेको एजेण्डा नै आफूले कार्यान्वयन गर्न खोजेको बताए ।
मुख्यमन्त्री कार्कीले यसअघि एमाले सरकारमा रहुञ्जेल माओवादी र एकीकृत समाजवादी सरकारमा आउन नचाहेको अवस्थामा आफूले छलफलपछि समाधान गरेकोमा एमाले बाहिरिनु गलत भएको बताए । सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई उनले आग्रहसमेत गरे ।
मुख्यमन्त्री कार्र्कीले प्रदेशको जटिलता र परिवर्तनको विरुद्ध भएको चलखेलविरुद्ध मुख्य राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए । उनले एमालेकै सहयोगमा आफू मुख्यमन्त्री भएकोले फेरि पनि एमालेलाई साथमा लिएर अगाडि बढ्ने प्रयास गर्ने बताए ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पका पीडितहरूका लागि कोशी प्रदेश सरकारले एक करोड उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले बताए । मन्त्री राईका अनुसार एक ट्रक जिन्सी उपलब्ध गराउने निर्णय गरेको छ । कमल, त्रिपाल म्याट लगायतका जिन्सी सामाग्री उपलब्ध गराइने प्रवक्ता राईले बताए ।
हिजो राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरूको उद्धार, राहत र पुनः निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । अहिले सम्म १३६ जनाको निधन भइसकेको छ भने १५० भन्दा बढी घाइते छन् ।