महिला अधिकारका लागी राष्ट्रिय अभियान कोशी प्रदेश स्तरीय क्षेत्रीय भेला तथा विशेष साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रम बेलबारी—२ स्थीत सुदर्शन मल्टि एग्रो रिसोर्टमा सम्पन्न भएको हो ।
महिला अधिकारका लागि राष्ट्रिय अभियानको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सहकार्य होमनेट नेपाल सचिवालय संस्थाले गरेको थियो । कार्यक्रममा १४ वटा जिल्लाका बिभिन्न महिला अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।
आज भएको कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । २०७४ सालदेखि निरन्तर दमक नगरपालिकाद्वारा संचालित दमक अस्पतालको एम्बुलेन्स चालक रही नेपालको पहिलो महिला एम्बुलेन्स चालक लिला बस्ताकोटीलाई कार्यको उच्च मुल्यांकन गर्दै प्रोत्साहन स्वरुप सम्मान पत्र र खादाले सम्मानित गरिएको थियो भने अन्य बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउने र यस अभियानमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
महिला अधिकारका लागी राष्ट्रिय अभियानकी केन्द्रिय अध्यक्ष सरिता घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेश उप सभामुख माननीय सिर्जना दनुवार रहेकी थिइन भने बिशिष्ट अतिथिमा कोशी प्रदेश संसद माननीय शोभा पालुंग्व चेम्जोङ र विशेष अतिथिहरुमा बेलबारी नगरपालिका प्रमुख दिल प्रसाद राईलगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेश उप सभामुख माननीय सिर्जना दनुवारले काशी प्रदेशमा ३३ प्रतिशत भन्दा बढी महिलाहरुको अधिकार रहेको र स्थानीय तहमा ४० प्रतिशत महिलाले प्रतिनिधित्व गरेपनि समाजमा महिलाप्रति हुने हिंसाका घटनाहरु नरोकिएकाले यो संस्थाले महिला शसक्तीकरण र महिला अधिकार तथा समाजमा भईरहेको महिला हिंसाको अन्त्य गरी संविधानले दिएको अधिकार प्राप्त गर्दै महिलाको नेतृत्वका लागी संस्थाको भुमिका रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरेकी थिइन् ।