उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेकोे हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो । इरानका लागि आमेर खोर्सन्दले ३७ रन बनाए । उनले २२ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाएका हुन् । साबेर इब्राहिमपुर ४३ बलमा एक चौकासहित ११ रनमा नटआउट रहे । त्यसबाहेक अन्य इरानी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । इरानलाई सस्तैमा समेट्नेक्रममा नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान तीन तीन विकेट लिए । त्यस्तै हेमन्त धामी र आकाश चन्दले समान दुई दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै तीनसय ५३ रनको योगफल बनाएको थियो । नेपालको इनिङमा कप्तान देव खनालले सतक प्रहार गरे भने दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धसतक बनाए । तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५०औँ बल खेल्दै १२ चौका र चार छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् । त्यस्तै दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र दुई छक्का हिर्काएका थिए । पाँचौँ नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए । देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए । यसैगरी दीपेश कंँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ रन तथा सुभास भण्डारीले १८ रन जोडे । इरानका दद्रहमान राइसीले र सलमान निज्मान्दले समान तीन तीन विकेट लिए भने शेखी र जियाद राइसीले समान दुई दुई विकेट लिएका थिए । अब नेपालले दोस्रो खेल यही असोज २८ गते बहराइनसँग खेल्नेछ