जिल्ला अस्पताल संखुवासभामा ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपातको प्रयास गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ का २८ वर्षीय विक्रम विश्वकर्मा र २८ वर्षीय आशिष विश्वकर्मा र वडा नम्बर ९ का अनील विश्वकर्मा रहेको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार लामिछानेले जानकारी दिए।

इन्सपेक्टर लामिछानेका अनुसार उनीहरूले मदिरा सेवन गरी हिजो बिहान १ बजे खाँदबारीस्थित जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपातको प्रयास गरेका थिए।

जिल्ला अस्पताल खाँदबारीमा समन्वय अधिकृतको रूपमा खटिएको प्रहरी कर्मचारीले सम्झाई बुझाई गर्दा प्रहरीमाथी नै हातपातको प्रयास गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली पुगेको थियो।