मोरङको बेलबारी नगरपालिकामा रहेको चिसाङ खोलाको ठेक्का परेको पहिलो पक्षले दोस्रो पक्षलाई कमिसनको लोभमा परेर चलखेल गरेको आरोप लगाएको छ । ठेक्का परेको पहिलो पक्षलाई ठेक्का नदिई दोस्रो पक्षलाई ठेक्का दिने तयारी गरेपछि पहिलो पक्षले आरोप लगाएको हो ।
बेलबारी नगरपालिकाले भ्याटबाहेक १ करोड ४५ लाखमा ठेक्का खुलाएमा उक्त खुलाएको ठेक्का ३ वटा फर्महरुले भरेका थिए । ठेक्का भरेकामध्ये सबैभन्दा बढी २ करोड २२ लाखको ठेक्का सुन्दरहरैचाको मकालु कन्ट्रक्सनलाई परेको थियो । ठेक्का परेपछि मकालु कन्ट्रक्सनलाई पहिलोपटक १५ त्यसपछि ७ र ३ दिनको म्याद दिएर रकम जम्मा गर्ने समय दिईएको थियो । पछिल्लो पटकको समयमा सार्बजनिक बिदाका कारण रकम जम्मा गर्न असमर्थ भएपछि सो फर्मले १ दिन समय मागेको थियो । तरत्यसपछि सो फर्मलाई थप समय नदिई ५६ लाख ६५ हजार कम रकममा ईटहरीको शिवजी कन्ट्रक्सनलाई ठेक्का दिने तयारी नगरपालिकाले गरेको छ । सोही फर्मलाई आशयपत्र दिने तयारीमा नगरपालिका रहेको छ ।
५६ लाख ६५ हजार बढी रकम कबोलेको पहिलो फर्मलाई नगरपालिकाले कालो सुचीमा राख्दै कम रकम कबोल्ने दोस्रो फर्मलाई ठेक्का दिने तयारी भएपछि पहिलो फर्मका सञ्चालकहरुले अन्याय भएको र कमिसनको लोभमा दोस्रो फर्मलाई ठेक्का दिएको आरोपसमेत लगाएका छन । सार्बजनिक बिदाका कारण रकम जम्मा गर्न नसकेको र एकदिन समय माग्दा समेत उपलब्ध नगराउनु भनेको कमिसनको खेल बाहेक केही नभएको उनीहरुको आरोप रहेको छ ।
जिल्ला प्रशासन कार्यलय मोरङले बेलबारी नगरपालिकालाई सोही बिषयमा परेको उजुरी उपर आबश्यक कारबाहीका लागि पत्र पठाएको छ । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुँइटेलले भने पहिलो फर्मले समयमा रकम जम्मा नगरेकालेगर्दा दोस्रो फर्मलाई आश्यपत्र दिने कार्यपालिकाको निर्णय भएको बताउनुभयो । उहाँले नियमअनुसार दोस्रो फर्मलाई आशयपत्र दिने र पहिलो फर्मलाई जस्तै समय उपलब्ध हुने बताउनुभयो ।