उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिनुभएको छ । उहाँले आइतवार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत हनान गदरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्दारबारे जानकारी लिनुभएको हो । गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उहाँले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिनुभएको हो ।