विराटनगर, ११ असोज ।

 विराटनगरमा असोज १२ र १३ गते आयोजना हुन लागेको नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

बिहिवार विराटनगरमा पत्रकार सम्मेलनमा कोशी प्रदेश अधिवेशनको तयारी, सहभागिता र लागत बारे जानकारी दिइएको थियो । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्नुहुने सो अधिवेशनमा कोशी प्रदेशका १ सय ३७ पालिका, २३ वटा जनवर्गिय संगठन, दलित, मजदुर लगायतको करिब १ हजार ४७ जना प्रतिनिधिहरु सहभागि हुने बताइएको छ ।

सो पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज रघुविर महासेठले भरसक र्सवसम्मत नभए निर्वाचन द्वारा प्रदेश समिति छानिने जानकारी दिए । 

कोशी प्रदेश अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारी सहित २ सय १५ सदस्यीय प्रदेश समितिको निर्वाचन गर्ने बताइएको छ । आयोजक समितिका संयोजक तुलसी प्रसाद न्यौपानेले आगामी दिनमा नेकपा एमालेको कार्यदिशा बारे सो प्रदेश अधिवेशनमा छलफल हुने र नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए ।

uml press meet photo (2)