निशुल्क स्वास्थ्य बिमा कार्यक्रम दुरुपयोग भएको रास्वपा बेलबारीले आरोप लगाएको छ । आर्थिक बर्ष २०७९/८० मा बेलबारी नगरपालिकाले बिपन्नका लागि वडा मार्फत बितरण गरेको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम दुरुपयोग भएको रास्वपाले आरोप लगाएको हो । बेलबारी नगरपालिकामा अघिल्लो स्थानीय सरकारकै पालादेखि गरिब तथा बिपन्न बर्गको लागि हरेक वडामा हरेक बर्ष ५ लाख सम्मको बजेट बिनियोजन गर्दै आईरहेको छ ।
स्वास्थ्य बिमाको प्रिमियम बापतको रकम रु ३५०० तिर्न नसक्ने बिपन्न घर परिवारलाई पूर्ण वा आंशिक प्रिमियम रकम स्थानीय सरकारले तिरीदिने नितिगत प्राबधान रहेको भएपनि वास्तबिकतामा सो कार्यक्रम बिपन्न भन्दा पनि पहुँचबालाले लिँदै आएको गुनासो बिगतमा पनि सुनिने गरेको थियो।
स्थानीय करदाताहरुले तिरेको करको श्रोतबाट बितरण गरिएको बिपन्न स्वास्थ्य बिमा कार्यक्रम बास्तबिक लक्षित बर्गलाई बितरण गर्नु भन्दा पनि राजनैतिक आस्था, नाताबाद, कृपाबाद, जानपहिचानका आधारमा बाँडेर भोटको राजनिति गरिएको रास्वपा बेलबारीले आरोप लगाएको छ । “यो एकप्रकारको नितिगत भ्रष्टाचार नै हो भन्ने हाम्रो ठहर हो” रास्वपा बेलबारीका नगर अध्यक्ष कुमार खुलालले बताउनुभयो।
आर्थिक वर्ष २०८०/८१ मा पनि बेलबारी नगरपालिकाले बिपन्न स्वास्थ्य बिमाका लागि बजेट छुट्याएको छ । आउने दिनमा स्वास्थ्य बिमाको कार्यक्रम लक्षित बर्गसम्म पुगोस भन्नका लागि बिपन्न बर्गको बैज्ञानिक पहिचानको संयन्त्र निर्माण गर्नुपर्नेसमेत रास्वपा बेलबारीले माग गरेको छ।
टोलविकास मार्फत बितरण गरिदै आएको बिपन्न स्वास्थ्य बिमामा राजनितिकरण हुने गरेको धेरैको बुझाइ रहेको छ । पछिल्लो समयमा सरकारले निजी अस्पतालबाट स्वास्थ्य बिमा लिन नपाउने प्राबधान राखेपछि स्वास्थ बिमा कार्यक्रम नै सङकटमा परेको बिज्ञहरु बताउँछन्।