विराटनगर, ८ असोज । 

  उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले संविधानले दिएको कार्यभार पूरा गर्न सरकार लागिपरेको बेला राष्ट्रिय एकतामा नै खलल पुग्ने गरी जातिय र धार्मिक सद्भाव खल्बल्याउने प्रयास भएको बताएका छन् ।

  विराटनगरमा आयोजना गरिएको सुरक्षा सम्बन्धी समसामयिक छलफल तथा अन्तक्रिर्या कार्यक्रममा बोल्दै गृह मन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न राजनैतिक दलहरु बीच सहकार्य र समन्वय हुनुपर्ने बताए । 

उनले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने निहित प्रयास भएकाले सबै राजनैतिक दलहरुलाई संवेदनशिल भईदिन आग्रह गरेका छन् ।

 गृह मन्त्रालयले आयोजना गरेको सो कार्यक्रम अघि गृह मन्त्री श्रेष्ठले झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र इलामको शान्ति सुरक्षाको अवस्था बारे जिल्ला सुरक्षा समिति संग जानकारी लिएका थिए । 

 गृह मन्त्री श्रेष्ठले कोशी प्रदेशको नामाकरण बारे भईरहेको आन्दोलनलाई संवैधानिक र कानुनी रुपमा समाधान गर्न आग्रह  गरे । 

 सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशको नामाकरण संवैधानिक र कानुनी प्रक्रिया पूरा गरेर गरिएको र अहिले पहिचानका नाममा एमाले विरुद्ध आन्दोलन भईरहेको गुनासो गरे । उनले वहुमत सदस्यबाट पारीत भएको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा सांसदहरु, मंन्त्रीहरुलाई बाटो छेक्ने अभद्र व्यावहार गर्ने जस्ता कृयाकलाप भएको बताए । 

सो कार्यक्रममा प्रतिपक्षी दलका नेता उद्धव थापा लगायत विभिन्न राजनैतिक दलका नेताहरु, गृह मन्त्रालयका सचिव, सुरक्षा प्रमुखहरु, प्रदेशका सुरक्षा प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, उद्योगी व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

surxa xalfal photo (2)

surxa xalfal photo (6)