राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघियताका कारण मुलुकको एकता तथा सामाजिक र धार्मिक सद्भाव खल्बलिन लागेको बताउनु भएको छ ।
शनिवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष लिङ्देनले आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुदै गएको स्पष्ट पार्दै जातिय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने बताउनु भयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरुलाई सरकारले सत्ताको रक्षा कवचको रुपमा प्रयोग गरेको गुनासो गर्नुभयो । उहाँले भ्रष्टाचार र सुन तस्करी प्रकरणलाई देखाउनका लागि मात्र प्रयोग नगर्न सरकार संग आग्रह गर्नुभयो । उहाँले प्रमुख राजनैतिक दलहरु नै भ्रष्टाचार र सुन तस्करी प्रकरणमा जोडिएकाले निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
फरक प्रसंगमा अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनैतिक स्थायित्व दिन आग्रह गर्नुभयो । उहाँले प्रदेश सभा नै विघटन हुने अवस्थामा राप्रपाले उचित निर्णय लिने जानकारी दिनुभयो ।