विराटनगर । शुक्रबारदेखि विराटनगर विद्यालय नाटक महोत्सव २०८० शुरु भएको छ । 

आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सव विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्दै शुरुवात गरिएको हो । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा शुरु भएको महोत्सवमा पहिलो दिन आयोजकको नेताजी नामक नाटक मञ्चन गरियो । गुरुकुलकै विद्यार्थी भरत पराजुलीले निर्देशन गरेको नाटकमा दिपा पोखरेल, आरपी निरौला, अशोक गौतम, देवेन्द्र यादव, प्रदिप दाहाल, लकेश दंगाल, प्रेम देवान, निरज कार्की, निशान राई, दिक्षा चौधरी, प्रतिक्षा न्यौपाने, सुरेश मण्डल लगायतले अभिनय गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले नाट्यकर्मले विराटनगरलाई कला–संस्कृतिको शहरका रुपमा स्थापित गर्न मद्धत पुग्ने धारणा राखे । शुक्रबारै गुरुकुलले सन् २००७ देखि २००९ सम्म नाट्य प्रशिक्षण लिएका १२ विद्यार्थीलाई दिक्षित पनि गरेको थियो । 

भाद्र २२ गतेदेखि ३१ गतेसम्म हुने महोत्सवमा आयोजक आरोहण गुरुकुलको एउटा र विराटनगरका ९ वटा विद्यालयका एक–एक वटा गरी कूल १० वटा नाटक मञ्चन हुनेछन् । दैनिक २ बजे नाटक मञ्चन गरिने यो महोत्सवको १० दिनमा झण्डै ४ हजार विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवमा भाद्र २३ गते मोर्डन एरा विद्यालयको नाटक आधा सत्य, २४ गते ग्रीनल्याण्ड विद्यालयको नाटक कोपिला, २५ गते ग्रेडेड स्कुलको नाटक तीतो बोली सच्चा गुण, २६ गते जेसी बाल सदनको नाटक अबोध मञ्चन हुनेछ । त्यस्तै २७ गते लिलिपुट स्कुलको नाटक चम्किला अनुहारहरु, २८ गते हेरिटेज स्कुलको नाटक विछोड, २९ गते पूर्वाञ्चाल विद्या सदनको नाटक स्वाद, ३० गते जनपथ माध्यमिक विद्यालयको नाटक खैराँती मास्टर र ३१ गते कान्तिपुर स्कुलको नाटक आमा मञ्चन हुने जनाइएको छ । रंगकर्मी खेम नेपाली, साहित्यकार सुमन पोखरेल र रंगकर्मी सुनीता घिमिरेको निर्णायक समितिले सहभागी ९ विद्यालयहरुमध्येबाट एक–एक उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री छनोट गर्नुहुनेछ, जसलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । 

374979148_791916099604778_7983305329418250471_n

374971431_324970436573198_6654956378741008168_n

विद्यालय नाटक महोत्सवको पहिलो र दोस्रो संस्करण वि.सं. २०७६ र २०७९ सालमा गरेको गुरुकुलले तेस्रो संस्करणका रुपमा “विराटनगर विद्यालय नाटक महोत्सव २०८०” आयोजना गरेको हो । गत साउन १४ गतेदेखि साउन ३१ गतेसम्ममा आवेदन दिएका विद्यालयहरुमध्ये ९ वटा विद्यालय छनोट गरि यस महोत्सवमा नाटक मञ्चन गर्न लागिएको आरोहरण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । महोत्सवमा सहभागिताका लागि छनोट भएका विद्यालयहरुलाई नाटक तयार गर्न गुरुकुलले प्रशिक्षणदेखि सबै प्राविधिक सहयोग निशुल्क गरेको महोत्सव संयोजक दिपेश भण्डारीले बताए ।

373482285_324082450102474_554808189839529365_n