वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउपर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समिर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका छन् । 

पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाईदिने भन्दै रु पाँच लाख ४५ हजार, सुनुवारले एक जनालाई क्रोएसिया पठाईदिने भन्दै रु दुई लाख, खड्काले एक जनालाई कुवेत पठार्इदिने भन्दै रु एक लाख ९४ हजार र गुरुङले एक जनालाई नेदरल्याण्ड पठाईदिने भन्दै गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।मगरलाई काठमाडौँको टोखाबाट, सुनुवारलाई काठमाडौँको मनोहराबाट तथा खड्कालाई काठमाडौँकै सामाखुशीबाट शुक्रबार र गुरुङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरिएको थियो । पक्राउ परेकालाई थप अनुसन्धान भईरहेको छ ।