विराटनगर ६ भाद्र । 

नवजात शिशु बेचेको घटनामा संलग्न एक जना डाक्टरसहित मोरङ प्रहरीले ६ जना पक्राउ गरेको छ । 

कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले अविवाहित जोडिबाट विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

पक्राउ पर्नेहरुमा  शिशु बेच्ने डा. कर्ण, शिशुका बुबा भोजपुरको हतुवागढी गाँउपालिका ४ का गोविन्द राई , शिशु खरिद गर्ने दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायण राजवंशी , दिदी सुधा राजवंशी र चिकत्सकका सहयोगी निर्मला यादवलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । डा. कर्णले ग्रिनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधामार्फत उक्त शिशुलाई बिक्री गरेको मोरङ प्रहरीका प्रवक्त डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । शिशु खरिद गर्ने निसन्तान राजवंशी दम्पती सुधाका नातेदार रहेको प्रहरीले बताएको छ ।  पहिले पाँच लाखमा कारोवार गरेको बताए पनि हाल ५० हजार मात्र भनेर वयान फेरेको प्रहरीले बताएको छ ।

विवाह भएको एक दशक वितिसक्दा पनि दिमायाको छोरा –बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । असार १३ गते अविवाहित महिलाले ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको बताइएको छ । 

प्रहरीले उनलाई पक्राउ गरेपछि गत शुक्रवारदेखि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका डा. कर्ण मङ्गलवार दिउँसो डिस्चार्ज भएपछि प्रहरीले न्यायीक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिवादी राई अविवाहित किशोरीका प्रेमी हुन् । उनीसमेतको मिलेमतोमा शिशु बिक्री गरिएको अनुमान छ ।जन्म दिएकोमा शिशु र प्रेमी बेपत्ता भएपछि युवती प्रहरीमा पुगेकी थिइन् ।

दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डाक्टर कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर पश्चिममा रहेको छ ।

डा.कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ ।

व्यथा लाग्ने औषधी खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असारमा डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ ।