विराटनगर ६ भाद्र ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।
बुधबार नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा कोशी प्रदेशमा संविधान विपरित विश्वासको मत लिएको भन्दै मुद्दा दर्ता गराएका हुन् । रिट निवेदनमा गैर–संवैधानिक रुपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गर्न माग गरिएको छ ।
कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धप थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका हुन् ।
यसैबीच कार्कीले थापाले विश्वासको मत नियुक्ति हुन सक्ने अवस्था नभएको भन्दै संविधानको धारा १६८ को उपधारा (३) अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग पनि गरेका छन् ।
यस्तै रिट निवेदनमा मुद्दाको टुंगो नलागेसम्म सरकारले दीर्घकालिन असर पर्ने प्रकृतिका कामकारबाही र निर्णय गर्नु सर्वथा अनुचित, गैरसंवैधानिक, गैर संसदीय र संवैधानिक नैतिकताको विपरीत हुने भएकोले त्यस्तो कुनै पनि काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश गर्नुपर्ने माग पनि गरिएको छ ।
यस्तै कार्कीले यसअघि साउन ११ गते सर्वोच्च अदालतले दिएको आदेशको मुख्यमन्त्री थापाले उल्लंघन गरेको भन्दै अदालतको अपहेलनामा कारबाही गरी हदैसम्म सजाय गर्न माग समेत गरेका छन् ।
कार्कीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नै नसक्ने र पुनः निजले सो अवसर पनि प्राप्त गर्न नमिल्ने र नेपालको संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुन पाउने मेरो संवैधानिक अधिकार नै भएकाले प्रत्यर्थी प्रदेश प्रमुखलाई नेपालको संविधान धारा १६८ (३) बमोजिम निवेदकलाई मुख्यमन्त्री नियुक्ति गर्नु गराउनु भनि परमादेश लगायत अन्य उपर्युक्त आदेश जारी गरि पाउँ भनेर रिट निवेदनमा उल्लेख गरिएकोछ ।