सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको छ । निरन्तर वर्षा भएसँगै आज सोमबार बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ४ लाख ५२ हजार क्युसेक पुगेको छ ।
बिहान ४ बजे गरिएको मापनमा प्रतिसेकेन्ड ४ लाख ६२ हजार क्युसेक बहाव पुगेको थियो । अहिले बिस्तारै पानीको बहाव घट्दै गएको छ ।पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । बहाव उच्च भएसँगै आवतजावतसमेत बन्द गरिएको छ ।
सप्तकोसीमा पछिल्लो तीन दशक यताकै उच्च बहाव भएको जनाइएको छ । सन् १९८९ मा कोसीमा बहाव प्रतिसेकेन्ड ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो ।
पानीको बहाव घट्दो क्रममा रहेपनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।