प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दैं कार्य सम्पादन सम्झौता गरिएको बताएका छन् ।चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको बताए ।
अहिलेको सरकार सुशासन, न्याय र सम्वृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार लागेको बताए ।
उनले बुढिगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भैरहेको बताए ।
विदेशमा जाने युवा र स्वदेश भित्र नै केही उत्पादन गर्न चाहाने युवाहरुका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाईं छ ।
शुक्रवार दिउँसो चितवन आएका प्रधानमन्त्री प्रचण्ड भरतपुर १४ स्थित आफैं घरमा बसेका छन् । उनी शनिबार चितवन नै रहने पारिवारिक स्रोतले जनाएको छ ।