केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । कालोसूचीमा रहेका उनीहरुलाई विमानस्थल पुगेपछि विभागबाट बुझेर उनीहरुलाई पक्राउ पूर्जी थमाइएको थियो ।
पक्राउ परेका दुई चिनियाँ नागरिकको साउन १४ गते पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग सम्बन्ध देखिएको छ । उनले सञ्चालन गरेको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई अनुसन्धान अधिकृतहरुले पक्राउ गरेका थिए ।
दावाले केही चिनियाँ नागरिकहरुलाई होटलको नाममा लिएको गाडी उपलब्ध गराएको पाइएको थियो । ती गाडी पक्राउ परेका दुई चिनियाँ नागरिकसहित अरुले प्रयोग गर्ने गरेको अधिकृतहरु बताउँछन् ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । ट्याक्सी चालक र भन्सार एजेन्ट पक्राउ परेका थिए ।
विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराधको कसूर देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई जिम्मा लगाएका थियो ।
अनुसन्धान अधिकृतहरुले यो प्रकरणमा यसअघि अर्का चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पनि पक्राउ गरिसकेको छ । प्रहरीको विशेष ब्यूरोले उलनाई दरबारमार्ग नजिकै उत्तर ढोकामा लोकेट गरेको थियो । पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।