नाबालिगमाथि अनलाइनमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।  नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक एसपी पशुपतिकुमार रायले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङ छन्। 

नाबालिगलाई  सामाजिक सञ्जालमार्फत मानसिक तनाव मात्रै नभई यौन हिंसा समेत गरेका थिए।  समिरले अन्य व्यक्तिको अश्लिल फोटो र भिडिओमा पीडित नाबालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेको प्रहरीले जनाएको छ। 

त्यस्तै उनी र सुरेशले ती बालिकालाई एक दिन कोठामा समेत बोलाएका थिए। कोठामा बोलाएर सुरेशले बालिकामाथि यौन हिंसा गरेको एसपी रायले जानकारी दिए। 

उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ र यौन हिंसा कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच(पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।