कोसी प्रदेशमा साउनको चौथो सातासम्म ९० प्रतिशत धान रोपाइँ भइसकेको छ। गत वर्ष यस अवधिमा ८८ प्रतिशत मात्र धान रोपाइँ भएको थियो।
कृषि विकास निर्देशनालय विराटनगरका अनुसार सबैभन्दा बढी सोलुखुम्बुमा ९९ र सबैभन्दा कम खोटाङमा ६५ प्रतिशत धान रोपाइँ भएको छ। तराईका जिल्लामा ९५ प्रतिशत धान रोपाइँ भएको छ।
निर्देशनालयका अनुसार कोसीकोे मध्यपहाडमा धान खेती हुने ९० हजार ९ सय १६ हेक्टरमध्ये ७९ प्रतिशत धान रोपाइँ छ। मध्यपहाडमा ७१ हजार ५ सय ९४ हेक्टरमा धान रोपाइँ भएको छ। निर्देशनालय विराटनगरका कृषिविज्ञ नेत्रमणि काफ्लेका अनुसार तराईका तीन जिल्लामा २ लाख २५ हजार ८ सय हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म २ लाख १५ हजार ७ सय ८४ हेक्टरमा धान रोपाइँ भएको छ। जुन धान खेती हुने क्षेत्रफलको ९६ प्रतिशत हो। त्यसपछि उच्च पहाडमा ८८ प्रतिशत धान रोपाइँ भएको छ। २४ हजार १ सय १३ हेक्टरमध्ये २१ हजार १ सय ४९ हेक्टरमा धान रोपाइँ भएको छ।
ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टरमा धान खेती हुँदै आएकोमा ८२ प्रतिशत रोपाइँ भएको छ। संखुवासभामा १३ हजार ८ सय ५१ हेक्टरमा धान खेती हुँदै आएकोमा ९० प्रतिशत भएको छ। त्यसैगरी, मध्यपहाडी जिल्ला ओखलढुंगामा ४ हजार ४ सय ३ हेक्टरमध्ये ९३ प्रतिशत रोपाइँ भएको छ । भोजपुरमा १८ हजार ९२ हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म ८१ प्रतिशत रोपाइँ भएको छ। धनकुटामा ७ हजार ९ सय ५० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म ८५, तेह्रथुममा १० हजार १ सय ७५ हेक्टरमध्ये ८२, उदयपुरमा १३ हजार ३ सय ८० हेक्टरमध्ये ७२ प्रतिशत रोपाइँ भएको छ।