संसदको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।

सदनको अवरोध हटाउन र  निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

सदनको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई-दुईपटक टेलिफोनमा कुराकानी गरेको पनि अधिकारीले जानकारी दिए।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवराेध गर्‍यो। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।