बिराटनगर २१ असार।
सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरुलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न निर्देशन दिएका छन् ।
आज काठमाडौं स्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष दलका नेताको बैठकमा बोलाएर गठबन्धनका प्रदेश संसदीय दलका नेताहरुलाई निर्देशन दिएको हो । गठबन्धन दलले राप्रपाको समर्थन प्राप्त नभएपनि थापालाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्दै आज बेलुका ५ बजेभित्र प्रदेश प्रमुख पर्शुराम खापुङको समक्ष दाबी पेश गर्न निर्देशन दिएका हुन् ।
काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसमेतलाई शीर्ष बैठकमा आमन्त्रण गरी यस्तो निर्देशन दिइएको जनाइएको छ ।
गठबन्धन लाइ बहुमत पुर्याउनका लागि राप्रपाको समर्थन अनिर्वाय जस्तै छ । राप्रपाले भने थापालाई समर्थन नगर्ने संकेत गरिरहेको छ । शिर्ष नेताहरुको निर्देशन अनुसार प्रदेशका दलका नेताहरुले ५ बजे भित्र राप्रपा नमानेमा विवादास्पद ४७ अंक पुर्याएर कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्ने भएका छन् ।
कोशी प्रदेशको गठबन्धनमा कांग्रेसको २९, माओवादी केन्द्रको सभामुख सहित १३, नेकपा एसको ४ र जनता जसपाको १ गरी ४७ सिट छ । नेकपा एमालेको ४० र राप्रपाको ६ सिट रहेको कोशी प्रदेशमा असार १५ गते विश्वासको मत नपाएपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको थियो । सरकारमा सामेल माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिए पछि कोशी प्रदेश सरकार अल्पमतमा परेको थियो।