विराटनगर, ३२ जेठ ।  

  कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता र स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष ०८०/८१  का लागि ३६ अरब २४ करोड ३५ लाख रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।

 कोशी प्रदेश सरकार अल्पमतमा परेपछि संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुख परशुराम खापुङबाट आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरी बिहिवार  कार्यक्रम बीच मुख्यमंत्री एवम् आर्थिक मामिला तथा योजना मंत्री हिक्मत कुमार कार्कीले बजेट सार्वजनिक गरेका हुन ।  

बजेट प्रस्तुत गर्दै कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष उत्पादन साथमा, नगद हातमा, “एक स्थानीय तह, एक उत्पादन कार्यक्रम, “हाम्रो उत्पादन, हाम्रो संस्कृति, “स्वच्छ, सुन्दर र आधुनिक प्रदेश राजधानी, “एक घर, एक धारा जस्ता कार्यक्रमहरु ल्याएको छ ।

बजेट प्रस्तुत गर्दै प्रदेश सरकारले पूराना कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरु समेत राखेको छ ।

 प्रदेश सरकारले ल्याएको बजेटमा पूँजीगत तर्फ १८ अरब २३ करोड ४२ लाख रुपैया र चालू खर्च तर्फ १४ अरब ३९ करोड ६२ लाख रुपैया छुट्याएको छ भने स्थानीय तहलाई वित्तिय हस्तान्तरणका लागि ३ अरब ६० करोड रुपैया विनियोजन गरेको छ । यसैगरी कोशी प्रदेश सभा सदस्य पूर्वाधार विकास कार्यक्रममा १ अरब ५० करोड रुपैया प्रदेश सांसदहरुले आयोजना छनौट गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित गर्नुपर्ने भएकाले विश्वासको मत लिएर बजेट पारित गरिने एमाले संसदीय दलका उपनेता राम बहादुर रानाले जानकारी दिए ।

कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट सन्तुलित भएको र कार्यान्वयन गर्न सकिए अर्थतन्त्र चलायमान गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए ।

koshi buged (1)

हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले अषाढ १५ गते भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक र कानुनी बाध्यता छ ।

अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुकोसाटो संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दलहरू अनुपस्थित रहेर वहिष्कार गरेका छन् ।

बजेट सार्वजनिक कार्यक्रममा सरकारका मन्त्रीहरू, एमाले र राप्रपाका सांसद तथा नेता, विभित्र मन्त्रालयका सचिवहरू, उच्चपदस्थ कर्मचारी, उद्योगी, संचारकर्मी लगायतको उपस्थिति रहेको छ