विराटनगर ३१ जेठ ।
कोशी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), असक्त, र गर्भवती महिलाका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ ।
बुधबार काउण्डरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । छुट्टै काउण्टर सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिक, असक्त र गर्भवतीलाई टिकट काट्न र औषधि लिन सहज भएको छ । सो अवसरमा मेयर कोइरालाले तीन तहको सरकारमा जो जुन भूमिकामा भए पनि सबैले जनताले सहज रुपमा सेवा पाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । अस्पतालले सुरु गरेको काउण्टरबाट ज्येष्ठ नागरिक, असक्त र गर्भवतीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
काउण्टर सञ्चालनमा आएपछि उहाँले पहिलो टिकट सुनसरीको इनरुवाका विर्खबहादुर सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो । मेयर कोइरालाले अस्पतालले सञ्चालनमा ल्याउन लागेको एनआइसियू कक्ष र आकस्मिक कक्षको निरीक्षण गर्नु भएको थियो । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, सदस्य मुकेश बुढाथोकी, निमित्त मेसु रविराज सिंहलगायतको समेत उपस्थिति रहेको थियो ।