विराटनगर, २८ जेठ ।
कानुनी ब्यबस्था अनुसार असहाय र गरिब विरामीहरुलाई मोरको बुढीगंगा गाँउपालिकामा रहेको विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलले निशुल्क सेवा नदिएको पाइएको छ ।
आइतबार बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीत नारायण थापामगर नेतृत्वको अनुगमन टोलीले आइतवार सो हस्पिटलको अनुगमन गरेको थियो । स्वास्थ्य संस्था संचालन सम्बन्धि निर्देशिका अनुसार निजी तथा सरकारी अस्पतालहरुले आफ्नो बेड संख्याको १० प्रतिशत असहाय र गरिब विरामीहरुको लागि निशुल्क बेड र उपचार उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । अनुगमन पछि आवश्यक कागजात पेश गर्न निर्देशन दिइएको अध्यक्ष जीत नारायण थापामगरले जानकारी दिए। विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटल ७ सय शैयाको हस्पिटल हो ।
अनुगमन टोलीले मेडिकल कलेज वरिपरिको औषधी पसलहरुको अनुगमन गरी व्यवसाय दर्ता, घरबहाल कर लगायत विषयमा अनुगमन गरेको थियो ।
सो अस्पतालले फोहोर पानी सोझै नहरमा फाल्ने गरेको गुनासो आएपछि अनुगमन टोलीले विराट मेडिकल कलेजको फोहोर व्यवस्थापन र फोहोर पानीको निकास बारे पनि अनुगमन र निरीक्षण गरेको थियो ।
अनुगमन टोलीमा बुढीगंगा गाँउपालिकाका पदाधिकारी, प्रमुख प्रशासकिय अधिकृत, औषधी व्यवस्था कार्यालयका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।