विराटनगर १८ जेठ
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गर्नु भएको छ ।
बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिनुभएको थियो ।
चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो ,तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपैयाँमा ठेक्का पारेको थियो । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।
महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूला योजनाहरु सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । दक्षिणी क्षेत्रमा विराट राजाको दरबारसँगै रानीपोखरी र मन्ठापोखरीको पुननिर्माणसँगै सौन्दर्यकरणसमेत भइरहेको मेयर कोइरालाले बताउनुभयो । धार्मिक र सांस्कृतिक महत्व बोकेको विराट राजाको दरबारसहित तीनवटै पोखरीको निर्माण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने उहाँको भनाइ थियो ।
१६ करोड जनसंख्या भएको बिहारसँग जोडिएको क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको मेयर कोइरालाको भनाइ थियो । “महानगरको नेतृत्वमा हामी आइसकेपछि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं,” मेयर कोइरालाले भन्नुभयो, “चालु अवस्थामा रहेका योजनाहरु निर्माण सम्पन्न भएपछि पर्यटकको आगमन बढ्ने र त्यसले यस क्षेत्रमा आर्थिक चलायमानसमेत बढ्नेछ ।”
महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकोमा स्थानीयसमेत खुसी देखिएका छन् । स्थानीय नित्यान्द यादवले महानगरको हालको नेतृत्वले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । यादवले भन्नुभयो, “महानगरपालिकाभित्र भएर पनि हामीमाथि विगतमा विभेद भएको थियो । अब भने महानगरले दक्षिणी क्षेत्रलाई निकै माया गरेको महसुस गरेका छौं ।” निर्माण कम्पनीका रञ्जित झाले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी रातदिन नभनिकन काम गरिरहेको दाबी गर्नुभयो । उहाँले गुणस्तरसँगै कामसमेत अन्तर्राष्ट्रियस्तरमा भइरहेको बताउनुभयो । निर्माणाधीन पोखरीको पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ । पोखरी वरिपरि प्याराफिट, आकर्षक बगैंचा, फूलबारी, विश्रामस्थल, कटेज, कलात्मक प्रवेशद्वारलगायत निर्माण हुनेछ ।